प्रधानमन्त्री ओलीले यसरी बजाए बाँसुरि (भिडियोसहित) | NewsSudur

प्रधानमन्त्री ओलीले यसरी बजाए बाँसुरि (भिडियोसहित)

[elfsight_social_share_buttons id="1"]
1410 Views

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटार केहीबेर सांगितिक माहोलले गुञ्जायमान भयो । स्टेजमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव कुमार नेपालले दुवै हातमा सारङ्गी रेटे भने उनीहरुकै बीचमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नै धुनमा बाँसुरी बजाए। त्यहाँ उपस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरूलगायत पाहुनाले तालीको गडगडाहट सुनाए । मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सरकारी निवास बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझ कार्यक्रम गरिएको भिडियो अनलाईनखबरले सार्वजनिक गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । उनका अनुसार उक्त सारङ्गी साँझ पूर्व निर्धारित समय अनुसार नै तय भएको हो ।

नेकपा सचिवालय सदस्यहरुलाई पारिवारिक निम्ता गरिएको थियो, उनीहरु जोडीसहित उपस्थित थिए। यसका साथै विभिन्न मिडियाका सम्पादकहरुको समेत उपस्थिति थियो जहाँ सबै मौलिक बाजाहरु राखिएको थियो । प्रधानमन्त्री ओलीले माघ १९ गते साँझ पनि बालुवाटारमा केन्द्रीय सदस्य र सांसदलाई भोज खुवाएका थिए। त्यो कार्यक्रम पनि संगीतमय बनेको थियो ।

प्रधानमन्त्री केपी ओलीलाई नजिकबाट चिनेकाहरुलाई थाहा छ, उनको संगीतमोहका बारेमा । ओलीले बालकोटको आफ्नो घरमा सारंगी, मुर्चुङ्गा, तबला, हार्मोनियम, भायोलिन लगायत धेरै वाद्यवादनका सामाग्री संकलन गरेर राखेका छन् । उनी तीमध्ये केही बाजा बजाउन पनि सिपालु छन् ।

प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ बजगाई भन्छन्, ‘उहाँ बाँसुरी र तबला राम्ररी बजाउनुहुन्छ । तर, केही समयअघि बायोप्सी गर्दा हातका औंलाहरु कमजोर भएकाले अहिले तबला चाहिँ बजाउन सक्नुहुन्न ।’ बालकोटमा हुँदा ओली फुर्सदका बेला ती बाजाहरु बजाउने गर्थे । उनले बाजा बजाउन कसरी सिके भन्नेचाहिँ कसैलाई थाहा छैन । तर, जे कुरामा पनि रुची राख्ने र त्यसमा प्रयास पनि गरिहाल्ने स्वभाव उनको भएको निकटवर्तीहरु बताउने गर्छन् ।
प्रधानमन्त्रीले बेलाबखत आफ्नो निवासमा कलाकर्मीहरुको जमघट गराइराख्छन् । यसबारे दिनेश डीसीले एउटा किस्सा सुनाए । गत वर्ष नयाँ वर्षका अवसरमा ओलीले बालुवाटारमै सांगीतिक कार्यक्रम राखेका रहेछन् । त्यसमा विशिष्ट व्यक्तित्वहरुलाई मात्रै निम्त्याइएको थियो । राष्ट्रपति विद्या भण्डारीसमेत त्यहाँ उपस्थित थिइन् । उद्घोषण उनै डीसीले गरेका थिए ।

कार्यक्रम सकिएर कलाकारहरु हिँडे । तर, प्रधानमन्त्री ओली नयाँ वर्षको स्वागतमा मध्यरातसम्मै माहोल गुलजार बनाउन चाहन्थे । त्यसपछि उनले दिनेश डीसीलाई भने, ‘अहिल्यै सुत्न जाने होइन, अब तपाईं गीत गाउनुस् ।’
डीसी पनि के कम । गाउन तयार भइहाले । उनले कनीकनी ३/४ वटा पुराना गीत गाए । त्यही क्रममा आफूले ‘घुम्तीमा नआउ है..’ बोलको गीत गाउँदा ओली एकाएक भावुक बनेको डीसी सम्झन्छन् । ‘त्यो गीतसँग ओलीको छुट्टै स्मृति रहेछ, उहाँले जब आफ्नो पुराना प्रसंग निकाल्नुभयो, हामी सबै भावुक बन्यौं,’ डीसीले भने ।

 


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु