नयाँ वर्ष र बिशु , डा.टि.एन.जोशी | NewsSudur

नयाँ वर्ष र बिशु , डा.टि.एन.जोशी

[elfsight_social_share_buttons id="1"]
395 Views

वैशाख १, धनगढी

डा.टी. एन.जोशी
प्रत्येक वर्ष बैशाख 1गते विक्रमीय सम्बत्का अनुसार सम्बत् फिर्ने पहिलो दिनलाई सुदूरपश्चिममा ‘ बिशु’ वा ‘ बिसौं’ मान्ने चलन छ। यसदिनमा डोटीका कतिपय ठाउँमा तितेपातीले नुहाएमा वर्षभरिकै विष नास हुने विश्वास गरिन्छ।यसदिन डोटेली भेगमा देवर भाउजूहरू सिस्नु लगाएर आपसमा खेल्ने गर्छन्। कुनै कुनै ठाउँमा घरको जनसंख्या अनुसार लठ्ठी काटेर पूजा गर्ने चलन छ। यसरी पूजा गरिएका लठ्ठीहरू गाइ चराउँदा तिनीहरूले गाईको रक्षा गर्छन् र आफू घरबाट बाहिर गएको बेला त्यो लठ्ठी साथ लगेमा सुरक्षित रहिन्छ भन्ने विश्वास गरिन्छ। यसभन्दा बाहेक उक्तदिन डोटीका कतिपय ठाउँमा बाघ र स्याल बनेर आपसमा लड्ने चलन पनि छ। सौर्यमास अनुसार सूर्य विषुवत् रेखामा पुगेको दिनलाई विषुवत् संक्रान्ति मानिन्छ। ॠतुका हिसाबले वसन्तका मध्यमा पर्ने यसदिनलाई विक्रम संवत् मान्नेजतिले नयाँ वर्षका रूपमा धुमधामसित मनाउँछन् ।मान्यजनबाट दशैंमा आशिष लिएजस्तै यस पर्वमा पनि टिका थापी आशिष लिने गर्दछन्।प्रायः जसो यस क्षेत्रका विभिन्न देवस्थलमा पूजा आजा गरिन्छ। डडेल्धुराका भागेश्वर, जगन्नाथ, असिग्राम, डाकेश्वरी, उग्रतारामा मेला लाग्नुका साथै विभिन्न देवस्थलहरूमा पूजागर्ने गरिन्छ।
यसदिनमा गङ्गास्नानको महत्व भएकोले सक्नेले हरिद्वार गएर स्नान पनि गर्दछन् । सेती र साकल्या- सङ्गम,परशुराम ( फर्सनाम), गैरीबगड, महाकाली- सुरनायाको सङ्गम, गोदावरीधाम, त्रिवेणीधामजस्ता बिभिन्न धार्मिक नदी तथा सङ्गमहरूमा स्नानगर्ने चलन छ। विषुवत्सङ्क्रान्ति मनाउन केही लौकिकपरम्परा पनि छन् । यसदिनमा विषहरणका लागि नीमपत्र चपाउने, सिस्नु लगाउनेजस्ता लोकपरम्परा पनि पाइन्छन्।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु