अन्तु कटेजमा आगलागी हुँदा नौ लाखको क्षति | NewsSudur

अन्तु कटेजमा आगलागी हुँदा नौ लाखको क्षति

[elfsight_social_share_buttons id="1"]
114 Views

मंगलबारे, इलाम, २८ : इलामको पर्यटकीय क्षेत्र श्री अन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी भएको छ ।
सूर्योदय नगरपालिका–४ मा रहेको कटेजमा आज बिहान करिब ५ बजे आगलागी भएको हो । आगलागीबाट कटेजको गोदाम कोठा र बार पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ ।
के कारणले आगलागी भएको भन्ने विषयमा अझै खुल्न सकेको छैन । सञ्चालक धरणी घिमिरेले भन्नुभयो, “विद्युत् चुहावट भएर पनि होइन, आगो बालिएको पनि छैन खै कसरी आगो लाग्यो रहस्यकै विषय बनेको छ ।”
आगलागीका विषयमा अनुसन्धान भइरहेको अन्तु प्रहरी चौकीका प्रमुख विमलकुमार निरौलाले जानकारी दिनुभयो ।
आगलागीबाट करिब रु नौ लाख ५० हजार मूल्यबराबरको क्षति भएको सञ्चालक घिमिरेले बताउनुभयो ।

स्टोर रुमसहित बार भवनसमेत जल्दा त्यहाँ राखिएका खाद्यान्न, पेय पदार्थ, लत्ताकपडालगायत सामग्री जलेर क्षति भएको उहाँले बताउनुभयो ।
आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगपछि त्यहाँ सञ्चालित लज भने जोगिएका छन् ।
अन्तु कटेज इलाकामा धरणी घिमिरे, कमल घिमिरे, राजन ताम्राकार, कुमार श्रेष्ठ र हेमसागर पौडेलले सञ्चालन गर्नुभएको हो ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु