वन अतिक्रण हटाउनै गारो | NewsSudur

वन अतिक्रण हटाउनै गारो

[elfsight_social_share_buttons id="1"]
238 Views

कञ्चनपुरमा नयाँ वन अतिक्रण नभए पनि वर्षाैंदेखिको अतिक्रमण हटाउन निकै समस्या भइरहेको वन कार्यालयले जनाएको छ । वनको तथ्यांकअनुसार कञ्चनपुरमा करिब ६ हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ । यसमध्ये आधा क्षेत्र हटाउनै नसकिने अवस्था छ ।

भीमदत्त नगरपालिकाको खल्ला मसेट्टी, वेदकोट नगरपालिकाको पोल्खरी क्षेत्र र शुक्लाफाँटा नगरपालिकाको पिल्लरीफाँटामा ठूलो बस्ती र वर्षाैंदेखिको अतिक्रमण भएका कारण हटाउन निकै समस्या देखिएको छ । यी तीन क्षेत्रमा मात्रै करिब २ हजार हेक्टरभन्दा बढी वन अतिक्रमण भएको छ ।

ठूलो बस्ती र वर्षाैंदेखिको बसोबासका कारण ती ठाउँको अतिक्रमण हटाउन निकै समस्या रहेको वन अधिकृत शिवप्रसाद शर्माले बताए । उनका अनुसार पोल्खरी क्षेत्रमा पुरानो बसोबास भएकाले लालपुर्जा दिनका लागि वन कार्यालयले विभागमा लेखी पठाएको छ । एक÷दुई वर्षयता जिल्लामा नयाँ अतिक्रमण नभए पनि पुरानो हटाउन नसकिएका कारण बढी देखिएको उनले बताए ।

आरक्षपीडित, बाढीपीडित र भूमिहीनको समस्या समाधान गरेपछि मात्रै वनमाथिको चाप कम हुने वन संरक्षणकर्मी बताउँछन् । वर्षांैदेखि बसोबास भएको बस्तीलाई व्यवस्थित गरेर वास्तविक अतिक्रमित क्षेत्र पहिचान गरी खाली गरिनुपर्ने जयशंकर सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

वर्षाैं पुरानो बस्ती हटाउने हो भने उनीहरूको अन्यत्र व्यवस्थापन नगरिए उनीहरू पुनः वन क्षेत्रमै जाने उनी बताउँछन् । केही ठाउँमा वनले अतिक्रमण हटाएर तारबार र वृक्षरोपणसमेत गरेको छ । ७ वर्षमा करिब अढाई हजार हेक्टर वन क्षेत्रबाट २ हजार २ सय घर टहरा हटाइएको छ । अधिकांश ठाउँमा वृक्षरोपण गरिएको कार्यालयले जनाएको छ । अतिक्रमण खाली गरिएका केही ठाउँमा वन राम्रो बनेका छन ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु