थारु फर्किएपछि रित्तियो शहर, माघी मनाउन गाँउ जाँदै | NewsSudur

थारु फर्किएपछि रित्तियो शहर, माघी मनाउन गाँउ जाँदै

[elfsight_social_share_buttons id="1"]
209 Views

मोहन चौधरी, अध्ययन तथा रोजगारीका लागि घर बाहिर रहेकाहरु माघी मनाउन गाउँ फर्किन थालेपछि शहर विस्तारै रित्तिन थालेको छ भने यातायातमा सवारी चाप बढेको छ । थारु समुदायले नयाँ वर्ष र पहाडी समुदायले मकर संक्रान्तिका रुपमा मनाउने पर्व नजिकिएपछि गाउँ फर्किने यात्रुको चाप बढेको हो । जाडो छल्न शैक्षिक संस्था समेत बन्द भएकाले यतिबेला विद्यार्थीहरु पनि घर फर्किएका छन् ।

माघीलाई नयाँ वर्षको रुपमा मनाउन विशेष तयारी गर्नुपर्ने भएकाले दुई तीन दिन अघिदेखि नै थारु समुदायका मानिस आफ्ना काम छोडेर घर फर्किन थालेका छन् । रोजगारीका लागि शहरमा बसएका थारु समुदायका मानिस फर्कन थालेपछि निर्माण तथा व्यापारीक क्षेत्रमा केही दिनका लागि काम ठप्प भएको छ ।

वर्ष भरिको ठुलो चाड भएकाले माघी मनाउन घरजान लागेका जोशीपुर गाउँपालिका वडा नम्बर ३ की शिवरानी चौधरीले बताइन् । गाँउमा निरन्तर काम नपाइने भएकाले दिपावलीपछि धनगढी आएर मजदूरी गरिरहेकी शिवरानीले माघी मनाउन तथा हिउँदे बाली भित्र्याउन घर जान लागेको बताइन् ।

पसलहरुमा सहयोगीका रुपमा काम गर्ने कामदार, राजमिस्त्री तथा रिक्सा चलाउने चालकसमेत घर फर्कन थालेपछि शहर सुनसान हुन थालेको छ । माघीपछि नयाँ कामको सुरुवात गर्ने तथा वर्षभरि गरेका कामको मुल्याङ्कन गरी नयाँ योजना बनाउने र परिवारसगैं बसी सल्लाह गरर्ने भएकाले माघीमा सबैजना घरमा जम्मा हुने उनीहरु बताउँछन् । काठमाण्डौमा मिस्त्रीकाम गर्ने कैलारी गाँउपालिका वडा नम्बर ९ का बुधराम चौधरीले माघीका लागि १ हप्ता बिदा लिएको बताए ।

अध्ययन तथा रोजगारीका लागि गएकाहरु फर्कन थालेपछि बाहिरबाट कैलाली आउने बस तथा धनगढीबाट कैलालीका ग्रामीण क्षेत्रमा जाने बस प्याक हुने गरेका छन् । थारु समुदायले पुस अन्तिम दिन खानाका परिकार बनाई खाने र माघ १ गते नुहाईधुवाई गरेर मान्यजनबाट आर्शिबाद लिने चलन छ । यसलगत्तै गाउँमा भलमन्सा छान्ने तथा अरु सामाजिक र पारिवारिक जिम्मेवारी हेरफेर गर्ने चलन छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु