पशुपालन व्यवसाय हराउँदै | NewsSudur

पशुपालन व्यवसाय हराउँदै

[elfsight_social_share_buttons id="1"]
237 Views

मोहन चौधरी, चरन क्षेत्र मासिएपछि कैलालीमा पशुपालन व्यवसाय क्रमिक रुपमा घट्न थालेको छ । युवाहरु पटके रोजगारीमा भारत जाने र महिलाको काँधमा परिवारसहित सामाजिक जिम्मेवारीसमेत बढेपछि थारु समुदाय पशसपालनबाट विमुख हुन थालेको छ । केही वर्षअघिसम्म थारु जातिको प्रमुख पेशाका रुपमा रहेको पशुपालन विस्तारै हराउदै गएको हो । थारु जातिले कुखुरापालन, भेँडापालन, बाख्रापालन, गाईभैंसीपालन तथा बँगुरपालनबाट राम्रो आम्दानी गरेपनि केहीवर्ष यता भने हराएको छ ।

थारु समुदायमा पनि आधुनिक जीवनशैली, कारोबार र नगदमुखी व्यवसाय अपनाउने चलन बढेपछि परम्परागत पेशाहरु विस्थापित हुन थालेका छन् । यससँगै पशुपालन व्यवसाय पनि संकटमा परेको हो । वनजङगल समुदायमा हस्तान्तरण भएपछि चरन क्षेत्रको अभाव र परम्परागत पशुपालनबाट मेहनत अनुसारको प्रतिफल प्राप्त नहुँदा यसप्रति किसानहरुको मोहभङ्ग हुन थालेको छ । एक दशकअघि सयभन्दा बढी बाख्रापालन गरेका धनगढीको वडा नम्बर १५ उर्माका लल्ला रानाले बुढो भएसँगै पेशा त्यागेका छन् । युवा पिढीले पनि पशुपालन व्यवसाय झन्झटिला मानेपछि पुख्र्याैली पेशा सधँैका लागि गुमेको उनले बताए ।

थारु समुदायले आधुनिक प्रविधि अंगाल्न नसक्दा पशसपालनबाट खासै फाइदा लिन सकेका छैनन् । पहिला थारु सामुदायका प्रत्येक घरमा पालिने कुखुरा बाख्रा तथा बंगुर आजभोलि भने गाँउका एक दुईघरमा पालेको देखिन्छ । कृषिका लागि गरिने गाई तथा भैंसीपालन पनि कृषिमा आधुनिकीकरण भएपछि हराएको छ । पशुलाई खुवाउने घाँसको अभाव र हेरचाह गर्ने जनशक्ति नहुँदा पशुपालन संकटमा परेको तथा छाडा पशुचौपायाको समस्या आएको धनगढीको वडा नम्बर १६ भादाका कुलबीर डगौंराले बताए ।

पशुपालक कृषकका लागि पशु आहारा, पशु स्वास्थ्य, तालिम तथा प्रचार अभावमा पशुपालन व्यवसाय संकटमा परेको छ । पशु उत्पादनले लागत अनुसारको मूल्य नपाउने र बजारीकरणको समेत समस्या देखिएपछि पशुपालन व्यवसाय ओझेलमा परेको थारु किसान बताउँछन् । ग्रामिण क्षेत्रमा पशु कार्यालय नहुनु तथा चौपायाहरुमा विभिन्न रोगको संक्रमण हुँदा उपचार नपाउने समस्याले पशुपालन छोडेको धनगढीको वडा नम्बर १५ उर्मीका आशाराम रानाले वताए । खेतीका लागि प्रयोग गर्न मात्रै राँगा तथा गोरु पाल्ने गरेको उनको भनाई छ ।

पशुपालन व्यवसाय अन्य पेशाभन्दा सजिलो र सहज भएकाले यसतर्फ आकर्षित गर्न सकिए आम्दानीको स्रोत बढ्ने कृषकहरुले पनि बुझेका छन् । स्थानीय स्रोत साधनको प्रयोगगरि पशुपालन जस्ता व्यवसाय गर्न सके रोजगारीको अवसर पनि सिर्जना हुने देखिन्छ । यसतर्फ सरकारी निकायले पनि सोच्नु जरुरी छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु