प्रदेशसभाको नेतृत्व सम्हाल्न एमाले भित्र तानातान, माओवादी रमिते | NewsSudur

प्रदेशसभाको नेतृत्व सम्हाल्न एमाले भित्र तानातान, माओवादी रमिते

[elfsight_social_share_buttons id="1"]
189 Views

काठमाडौँ, १८ माघ । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक गठन हुन लागेको प्रदेशसभाको नेतृत्व सम्हाल्नका लागि विशेष गरी एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधूप गरिरहेका छन् । धमाधम रुपमा प्रदेशसभाका बैठक सुरु भएका छन् भने केहीको केही दिनमा सुरु हुने छ । एमालेका केही नेताहरु भने दुई तिहाई भन्दा बढी स्थानमा आफूहरुले नै जिते जस्तो गरी गैरराजनीतिक रुपमा प्रस्तुत हुन थालेका छन् ।

उनीहरुको कार्यशैली एकतन्त्रीय एवम् अराजकतालाई बढावा दिने खालको रहेको छ । एमालले माओवादी केन्द्रलाई पनि केही स्थान दिनुपर्छ, निकट भविस्यमा पार्टी एकता हुन लागेको छ भन्ने मूल्य र मान्यतालाई समेत आत्मसात् गर्न नसकेको जस्तो देखिन पुगेको छ । एमाले नेतृत्वमा एक प्रकारको दम्भ र अहंंकारले घर गरेको छ । जुन सतहमा प्रस्ट रुपमा देखिएको छ । एमालेका नेताहरुको अहंंकार, अराजकता तथा नैतिक विहिन चरित्र सुध्रियो होला भन्ने अपेक्षा गर्नु पछिल्लो दिनमा उनीहरुले देखाएको द्वैध चरित्रका कारण उनीहरु सुध्रिएका छैनन् भन्ने जस्तो देखिन पुगेको छ ।

एमाले वृत्तमा जुन तरिका र प्रवृत्ति पछिल्लो दिनमा विकास हुन थालेको छ, त्यसले पार्टी एकता प्रक्रिया सहज छैन भन्ने पनि देखाउँछ । एमाले नेताहरुमा विश्वास भन्दा पनि धोकाधढी बढी गरेको छ । सहयात्री दललाई हेप्ने, तिनका नेता तथा कार्यकर्ता केही पनि होइनन्, एमाले मात्रै ठिक छ, सही छ, अरु सबै बेकार हुन् भने जसरी एमाले वृत्तबाट जे जसरी प्रचार गरिएको छ, त्यसले उनीहरु विभिन्न बाहाना निकालेर नै भएपनि एकता प्रक्रियालाई खण्डित गर्न उद्यत् छन् भन्ने पनि देखिन्छ । उनीहरु माओवादी केन्द्रलाई पार्टी एकतामा होइन, प्रवेश गराउने मनुसायका साथ प्रस्तुत भएका छन् । केही नेताहरुको अभिव्यक्ति कार्यशैलीले स्थिती सहज छैन भन्ने पनि देखाउँछ ।

सरकारले प्रदेश मूकाम तोकेपछि एमाले वृत्तबाट भएका अनेकन धोकाधढी र गलत संस्कार छरप्रस्ट रुपमा सतहमा नै देखिएको छ । पद र शक्ति जति सबै एमालेलाई चाहिने तथा केही छाडेका पदमा मात्रै माओवादी केन्द्रलाई सहभागी गराउने भन्ने मनसायका साथ जसरी एमाले नेतृत्व प्रस्तुत भएकोछ त्यसले उनीहरु विगतको कार्यशैलीबाट कुनै पनि रुपमा लचक भएका छन् र त्यस्तो अवस्थामा आउँछन् भन्ने कल्पना गरिनु पनि शतप्रतिशत गलत हुन जान्छ भन्ने संकेत गरेको छ ।

प्रदेश नं १ मा एमालेकै तर्फबाट मुख्यमन्त्रीका दाबेदार रहेका भीम आचार्य र शेरधन राईकाबीचमा चरम विवाद, झगडा र वैमनस्यता उत्पन्न भएको छ । एकले अर्कोलाई स्वीकार समेत गर्न नसक्ने अवस्था उनीहरुकोबीचमा रहेको छ । दुवैले आफूलाई मुख्यमन्त्रीको रुपमा दावी गर्दै जनताकोबीचमा टग अफ वारको निशुल्क मनोरञ्जन गराइरहेका छन् । एमाले भित्रको विशेष गरी खड्ग ओली समूह र माधव नेपाल समूहको लडाईका कारण पनि सतहमा त्यस्तो देखिएको हो । राई ओली पक्षका हुन् भने आचार्य नेपाल पक्षका हुन् । निर्वाचनको टिक बाड्दा कार्यकर्तासँग पैसा लिएको र अनावश्यक रुपमा चलेखल गरेको आरोप आचार्यमाथि लाग्दै आएको छ । उता विभिन्न युवतीसँग नाम जोडिएका राई पनि विवादित रहेको स्वयम् एमाले कार्यकर्ता बताउँछन् ।

उता मुख्यमन्त्रीका लागि सबैभन्दा बढी विवाद भएको अर्को प्रदेश हो प्रदेश नं ४ । सो प्रदेशमा पनि यस्तै उस्तै लडाई विगत देखि नै जारी छ । मुख्यमन्त्रीका लागि ओली गुटका पृथ्वीसुब्बा गुरुङ र नेपाल गुटका अझ वामदेव उपगुटका किरण गुरुङ मुख्य मन्त्रीका लागि निर्वाचनको पूर्व सन्ध्यादेखि नै मैदानमा उत्रिएका छन् । एकले अर्कोलाई स्वीकार नै नगर्ने वा भौतिक रुपमा नै सिध्याउन पनि पछि नपर्ने प्रवृत्ति एमाले प्रदेश नं ४ भित्र देखिएको छ । निर्वाचनको पूर्व सन्ध्यामा नै ओली गुटका पृथ्वी सुब्बाले आफूलाई मुख्य मन्त्री बनाउने भए मात्रै लम्जुङमा माओवादी केन्द्रका नेता देव गुरुङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न दिने अन्यथा आफू नै सो पदका लागि लड्ने भन्दै बार्गेनिङ गरेपछि उनलाई मुख्यमन्त्रीको आश्वासन दिइएको बताइएका छ । यस्तै वामदेव उपगुटका किरण गुरुङ एमाले भित्र कमै अवसर पाउने मध्येका एक हुन् । तनहुँमा काँग्रेस नेता रामचन्द्र पौडेलको छाँया परेको भएपनि एमाले भित्र पनि बाहिर पनि उनलाई इमान्दार नेताको रुपमा लिने गरिन्छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु